जीवन, यात्री र स्वप्रेरणा

प्रत्येक मानिस, एउटा मानिस, तपाईं, म, ऊ, कोहि पनि सिङ्गो एउटा हौं, एउटा पृथक मान्छे, एउटा पृथक सपना बोकेर हिंडेका यात्री। सपना सबैको एउटै होलान् तर पुग्ने मार्ग वा गोरेटो फरक फरक छ। मानौं एउटै बाटो भए पनि हिंड्ने तरिकाहरु फरक छन्।

हामी दोबाटोमा मिल्काइएको ढुङ्गो बन्न पुगेका छौं, हामीले आफैंलाई चिन्नुछ, हामी स्व पूजिन हामीले आफूलाई आफूलाई चिन्नुछ, तपाईं भित्रको तपाईं चिन्ने प्रयत्न गर्नुहोस्। अनि बल्ल हामी मनभित्र नै आफ्नै मन्दिर बनाउन सक्नेछौं, हामी पुजिनेछौं, हामी पुजिंदा संसार मन्दिर मानेर पूजा गर्नेछ। तर आफूले पहिलो पूजा नगरी कसैले पूज्नेवाला छैन। सम्झनुस् त त्यो ढुङ्गोलाई देवता बनाउन तपाईंले कुन कस्ट उठाउनु भएको छ।

आफू भित्रको त्यो `ढुङ्गो´ चिन्नुस्! सक्नुहुन्छ भने प्रतिभा र क्षमतालाई संगै लाने प्रयत्न गर्नुस्। नत्र कर्मले दिएको प्रतिभाको बाटो हिंड्नुस् या त कडा मिहेनतले दिने क्षमतालाई समात्नुस्। बस् यात्री भएर यात्रामा हिंडिरहनुस्। सबै यात्री पुग्ने ठाउं एउटै होलान् तर सबैले देख्ने दृश्य एउटै हुनेछैन।

जीवन यात्रामा: यात्री या पर्यटक?

`यात्रा भनेकै आफ्नो हृदयको त्यो ठाउं पत्ता लगाउनु हो जहांसम्म आजसम्म पुगिएको छैन।’ साच्चै यो उद्गार पढ्दा यति सरल र छोटो लागे पनि यत्तिको सरल पक्कै होइन, एउटा गहिरो अर्थ बोकेको वाक्य भन्छु म। हेर्नोस् त सारा यात्रा गर्दा गर्दै पनि हामी हृदयको अन्तस्करणमा पुगेका पो छैनौ कि?

हाम्रो यात्राको मामिलामा एउटा कथन छ नि, हामी कोहि खहरे, कोहि खोल्सा, कोहि खोला, कोहि नदी भए पनि अन्तिम यात्रा सागरकै तय हुन्छ। त्यसैगरी शिखरको यात्रा जुन पदमार्ग या कुनै अर्को बाटोबाट गरेपनी त्यो शिखरमा पुगेपछि देखिने दृश्य एउटै हुन्छ। सत्यको शिखर पनि त्यस्तै हो। शिखरमा त यात्रीहरु मात्र पुग्छन्, पर्यटक पुग्दैनन् बरु उसले टाढाबाट शिखर हेर्छ, फोटो खिच्छ अनि सायद ऊ यतिमै सिमित पनि हुन्छ।

पर्यटकले शिखरका गुणदोष बारे समिक्षा गर्न सक्छ तर, त्यहां पुग्न भने सक्दैन यो मानेमा उसंग प्रतिभा नभएर भने होइन। प्रतिभा नभएको कोही पनि हुन्न।कुनै न कुनै प्रकारको प्रतिभा हरेक मानिसमा छ।

एरिका जोङको सुन्दर कथन छ, जो  ‘खुसी’ भन्ने किताबमा पनि उल्लेख छ, ‘प्रतिभा सबैसंग हुन्छ। तर त्यो प्रतिभाले डोराएर लैजाने डरलाग्दा ठाउँहरूमा जाने साहस बिरलै मानिसमा हुन्छ।’ मानिस प्रतिभा नभएर प्रतिभाहिन भएको होइन। प्रतिभाले ‘हिंड, संगै जाउं’ भन्दा जाने आंट नभएर मात्र त्यस्तो देखिएको हो।

एउटा बुझ्नु पर्ने कुरो, हामी संसारमा बस्ने सात अर्ब मानिसको सात अर्ब संसार छ, सबै भिन्न भिन्न, भलै हामी एउटै सपनाका लड्दै किन नहौं र? तर सपना एउटै भएपनी प्रत्येक व्यक्ति आफ्नै तरिकाले लड्छ, र यो नै एउटा मानिसको पहिचान पनि हो। सङ्कल्प, दृढ निश्चय र उद्देश्य देखि नलडेका होइनन् तर सपना पूरा नहुनुमा मिहेनत र परिश्रम वा उद्देश्यमा मलाइ खोट देखाउनु पर्छ भन्ने लाग्दैन? बरु यो अकाट्य सत्य हो कि, हाम्रो समय संयोग मिल्दै छैन, कर्म कारक हुन्छ प्रत्येक प्रसङ्गमा।

निलो मनमा पनि काला बादलहरु हुंडलिन्छन् कहिले आफैं भित्रको फेवा तालको बादलले घेर्छ कहिले त मित्रहरूबाट आउने बङ्गाली कालो बादलले घेरिनुपर्छ, त्यस मानेमा तपाईं पहाड बनेर उभिनैपर्छ नत्र तपाईंलाई तिनले दु:ख दिइरहनेछन्। तपाईं पहाड बनी उभिएको खण्डमा उनीहरु तपाईंसामू ठोक्किन पुग्नेछन्, तपाईंका सपनालाई घेर्न पुगेकाहरु आफैं पानीपानी बन्नेछन् तर तपाईं पहाडको पहाड भएर उभिनुहुनेछ। तपाईं झन् रसिलो बन्ने मौका पाउनुहुनेछ, बढीमा क्षति भए तपाईमा पहिरो जाला तर तपाईंको अस्तित्व कहिले मेटिनेछैन।

स्वप्रेरणा बाट जागृत बन्नुस्, मनलाई क्षितिजझैं फराकिलो भएर फैलिन दिनुस्, एकदिन देशले खोजेको व्यक्ति तपाईं हामी बन्नेछौं। किताबका पाना चहारेर आफूलाई खोज्ने मानिसहरु कसैको मस्तिष्कबाट हराउलान् तर ऊ स्वयम् कहिले हराउंदैन। अरु के हुंदैछ वा बन्योसंग साइनो राख्दै नराख्नु, जीवन एउटा खुशीयालीको यात्रामा डोरिन्छ् र यो यात्राले आफ्नो हृदयविजय सम्भव गराउंछ।

बस्, स्वप्रेरित भएर आफ्नो मन-मस्तिष्कका चक्षुबाट आफू भित्र रहेको थोपोको संसारलाई विविध कोणबाट नियाल्ने प्रयत्न गर्नुस्। अरु को हो/होइन, आफू को हो खोज्नुस्!

-दीपकिरण खड्का
एमबीबीएस अध्ययनरत
हाल: च्यामुसी, चीन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here